पाँचथर विस्फोट[अपडेट] : घाइते दाजुबहिनीको मृत्यु

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटबाट घाइते भएका थप १ बालकको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।

बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए।घाइतेहरूलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार गराइए पनि थप उपचारका लागि झापा रेफर गरिएको थियो। उपचारका लागि लैजाँदै गर्दा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ बजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक किरण गौतमले जनाएका छन्।उनीहरू घरेलु ग्रिनेड विस्फोट भएर घाइते भएको हुन सक्ने अनुमान गरिएको छ, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। घटनास्थलमा अर्को शंकास्पद वस्तु पनि भेटिएकाले त्यो बम हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको भण्डारीले जानकारी दिए।

ग्रिनेड कहिले र कसले राख्यो भन्ने कुरा नखुलेकोले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन्, र त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। स्थानीयहरूले यो बम द्वन्द्वकालमा लुकाइएको हुन सक्ने आशंका गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *