निगमले प्रत्येक दिन ५ करोडको व्यापार गुमाउँदै

काठमाडौं— दुई वाइडबडी र एक न्यारोबडी विमान ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाइरहेको छ। निगमसँग चारवटा अन्तर्राष्ट्रिय उडानका विमानहरू छन्, जसमध्ये वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) को लागि दुई महिनादेखि इटालीको नेपल्समा राखिएको छ।

  अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ को लागि पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन। न्यारोबडी ‘सगरमाथा’ मा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि शनिबार रातिदेखि उडान स्थगित गरिएको छ।निगमको मार्केटिङ विभागका अनुसार, एउटा न्यारोबडीले दिनमा करिब एक करोड र दुईवटा वाइडबडीले चार करोडको कारोबार गर्दै आएका थिए। तीन विमान ‘ग्राउन्डेड’ हुँदा, जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको घाटा हुनेछ। यस रुटमा निगमको वाइडबडीले कार्गोबाट पनि ठोस आम्दानी गर्दै आएको छ। मार्केटिङ विभागका अनुसार, ‘एउटा उडानमा कार्गोबाट हुने न्यूनतम १०/२० लाखलाई समेत जोड्दा, नारिता उडान बन्द हुँदा निगमले सातामा १९ करोडसम्मको आम्दानी गुमाउँछ।

निगमले काठमाडौं–नारिता–काठमाडौं रुटमा सातामा तीन उडान सञ्चालन गर्दै आएको थियो। यस रुटमा एकतर्फी भाडा १ लाख २० हजार रुपैयाँ छ। चाडपर्वको मौसम नजिकिँदै गर्दा, निगमले एकतर्फी २ सय ५० यात्रु उडाउँदा ३ करोड रुपैयाँसम्मको कारोबार हुने गर्छ। ‘चाडपर्वको समयमा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा दुईतर्फी ५ सय यात्रु हुनेछन्,’ निगमका एक वरिष्ठ निर्देशकले भने, ‘यस हिसाबले, तीन उडान रद्द हुँदा सातामा १८ करोड हाराहारीको आम्दानी गुम्छ।’

निगमले वाइडबडी ‘अन्नपूर्ण’लाई ‘सी–चेक’का लागि असार ९ गते नेपल्स पठाएको थियो। मर्मत गर्ने एमआरओ कम्पनीले ३० दिनभित्र ‘सी–चेक’ सकेर जहाज फर्काउने सम्झौता गरेको थियो। तर, वाइडबडी जहाज कहिले फर्किन्छ भन्ने कुरा अझै निश्चित भएको छैन। एक इन्जिनियरका अनुसार, एलसीमार्फत मर्मतको पहिलो किस्ता पठाउन ढिलाइ हुँदा ‘अन्नपूर्ण’ वाइडबडी जहाज ३७ दिनसम्म एमआरओको पार्किङमा रहन बाध्य भएको थियो।

अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’का लागि बुधबार राति दुबई हुँदै इटाली पठाइएको छ। यो विमानको ‘सी–चेक’ साउन ९ गतेभित्र गर्नुपर्ने थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणको नियामक निकाय फलाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागले वाइडबडी ‘मकालु’लाई व्यावसायिक उडानका लागि थप ३ सय घन्टा समय दिएको थियो। थपिएको समयमा यो विमानले जापानको नारिता रुटमा मात्रै उडान गरेको थियो। पछिल्ला दिनहरूमा जापानका लागि हुने दुई उडानलाई गाभिएको थियो। सम्झौताअनुसार एमआरओ कम्पनीले वाइडबडी ‘मकालु’लाई ३० दिनभित्र फिर्ता पठाउनुपर्ने छ।

न्यारोबडी ‘सगरमाथा’ ले हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि शनिबार मध्यरातिदेखि उडान भरेको छैन। मर्मतपछि यसलाई मंगलबार हङकङ उडानका लागि राखिएको थियो, तर मर्मतमा कमजोरी भेटिएपछि उडान रद्द गरियो। अब निगमको अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी ‘लुम्बिनी’ मात्र उपलब्ध छ। नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई, र दमामका उडानहरू त्यही न्यारोबडीबाट सञ्चालन गर्नुपर्ने भएको छ।

जगेडा जहाज नभएको कारणले गर्दा केही उडानहरू रद्द गर्नुपरेको छ। विमानस्थलस्थित निगमको कार्यालयका अनुसार बुधबार राति १०:२५ बजे हुने काठमाडौं–दमाम उडान रद्द भएको छ। यसले दुवैतर्फ ३ सय यात्रु अलपत्र परेका छन्। ‘दमामको आजको उडानलाई बिहीबार बिहान १०:३० मा सारिएको छ,’ मार्केटिङ विभागका एक अधिकारीले बताए, ‘काठमाडौं र दमाममा रोकिएका यात्रुलाई होटलमा बस्ने व्यवस्था गरिएको छ। विमानस्थल आइसकेका यात्रुलाई फोनमार्फत भोलि बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *